पद खारेजीको माग गर्दै आफुविरुद्ध उजुरी दिने सुभाषचन्द्र यादवलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले जवाफ दिएका छन् ।
उनले आफू पार्टीको विधान र विधिवत् रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित भएको बताएका छन्।
महाधिवेशनका विधिसम्मत प्रक्रियाहरूमार्फत नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफैँ सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको पनि उनले प्रतिक्रिया दिएका छन्।
उनले भनेका छन् ,‘महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत् रूपमा दाबी विरोधको समय उपलब्ध गराएको थियो। यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दाबी विरोध गरिएन?’,उनले थपेका छन्, ‘आफैँ सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधिसम्मत भएन भनेर रोईलो गर्नुको कुनै अर्थ छैन। नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिँदैन।’
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य ९मधेशीतर्फ० दोस्रो धेरै मत २२०६ प्राप्त गरी विजय भएका थिए। सोही पदका लागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र यादव पराजित भएका थिए। निर्वाचनमा पराजय भएको तीन सातापछि यादवले विधानमाथि प्रश्न उठाउँदै निर्वाचन आयोगमा उजुरी दिएका छन्।