राष्ट्रियसभा सदस्यको लागि गण्डकीमा ६ जनाको उम्मेदवारी, यस्तो छ मतदाता विवरण

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकीमा राष्ट्रिय सभा निर्वाचनको लागि ६ जनाको उम्मेदवारी परेको छ । माघ १२ गते हुने निर्वाचनको लागि मंगलबार उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता गर्न सत्ता पक्षीय गठबन्धनका नेताहरु र विपक्षी दल नेकपा एमालेका नेताहरु उम्मेदवार लिएर प्रदेश निर्वाचन कार्यालय पुगेका थिए ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन परेको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जनकारी दिए । सत्ता गठबन्धनको सहमती अनुसार गण्डकीमा पनि उम्मेदवारी दर्ता भएको हो । गण्डकीबाट ३ जना निर्वाचित हुनेमा माओवादीबाट २ र कांग्रेसले १ जनालाई उम्मेदवार बनाउने सहमति सत्ता गठबन्धनबीच भएको थियो ।
नेकपा एमालेका तर्फबाट पनि ३ जनाले उम्मेदवारी दिएका छन् । एमालेबाट कास्कीका पुण्यप्रसाद पौडेल, महिलामा नवलपुरकी लीला थनेत र स्याङ्जाका अर्जुनकुमार सुनामले मनोनयन दर्ता गराएको पराजुलीले बताए ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन करिब ७ सय मतभारले अगाडि देखिन्छ । कुल ५ हजार ७६८ मतभारमध्य नेकपा एमालेको २ हजार ५३८ मतभार रहेको छ ।

  • २० पुष २०७८, मंगलवार १७:०४ प्रकाशित