मन्त्री डोबाटेको प्रहरीलाई निर्देशन : ‘हिंसाप्रति राज्य संवेदनशील छ, तपाईहरु न्युनिकरणमा लागि पर्नुस’

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारका माननीय आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले समाजमा बढीरहेको हिंसा न्यूनिकरणमा गम्भीरताका साथ लागि पर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

आज सोमबार गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण गर्दे मन्त्री डाबाटेले यस्तो बताएका हुन् ।आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै न्यूनिकरणमा लागि पर्न उनले प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।

यसै अवसरमा उनले प्रदेश प्रहरी र प्रदेश सरकार एउटै सिक्काको दुइ पाटा भएको बताए।प्रहरी र सरकारबीचको सम्बन्ध अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै निकाय गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

प्रहरी, राज्य र समाजको अभिन्न अंग रहेको बताउँदै उनले नागरिकका सहजताका लागि कार्य गर्न आग्रह गरे । सो अवसरमा धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले आन्तरिक मामिला मन्त्रीले दिएको निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए।

निरीक्षण भ्रमणका क्रममा मन्त्री विश्वकर्माले गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखा, मातहतका सम्पुर्ण प्रहरी कार्यालयहरुको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी समेत लिएका थिए ।

  • १९ पुष २०७८, सोमबार १७:०४ प्रकाशित