काठमाडौं ।
राष्ट्रियसभाको निर्वाचन नजिकिएसँगै भागबण्डा मिलाउने कसरत सुरु भएको छ। निर्वाचन मिति आएसँगै कुन पार्टीको भागमा ति सिट पर्ला भन्ने जिज्ञासा सबैमा छ । यही भागबण्डा मिलाउन गठबन्धनको बैठक बस्ने भएको छ ।
सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच भागबण्डाबारे छलफल हुने बताइएको छ। काँग्रेस महामन्त्री गगन थापाले भने, ‘भोलि बिहान गठबन्धनको बैठक बसेर कुन पार्टीको भागमा कति सबै टुंग्याउँछ ।’
माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि आज बस्ने भनिएको गठबन्धनको बैठक भोलि बिहान बस्न लागेको हो ।
काँग्रेस र माओवादी, एकीकृत समाजवादी र जसपा राष्ट्रियसभाको सिटमा भागबण्डा मिलाउने तयारीमा छन् । काँग्रेसका ३, माओवादी र एकीकृत समाजवादीका खाली भएका चार–चार सिटमा भने भागबण्डा हुने छैन ।
काँग्रेस स्रोतले भन्यो, ‘चार सिट माओवादीको, चार सिट एकीकृत समाजवादीको र ३ सिट नेपाली काँग्रेसको खाली भएको छ । तत् तत् सिट लिने कुरा स्वाभाविक हो । त्यसपछि एमालेबाट ८ सिट बाँकी रहन्छ ।’
त्यसमा १ जनता समाजवादी दललाई दिने काँग्रेसको रणनीति छ । स्रोतका अनुसार काँग्रेसले बाँकी एक–एक सिट माओवादी र एकीकृत समाजवादीलाई दिन तयार हुनेछ । त्यसो गर्दा काँग्रेसले ७, माओवादीले ५, एकीकृत समाजवादीले ५ र जसपाले एक सिट पाउने छ । सातै प्रदेशमा मत भारका हिसाबले दोस्रो पोजिसनमा भएकाले ५ सिटमा काँग्रेसले लिने स्रोतको भनाइ छ ।
स्रोतले भन्यो, ‘काँग्रेसले राष्ट्रियसभामा कम्तीमा ८ सिट लिन्छ । माओवादीले ५, एकीकृत समाजवादीले ५ र जसपाले १ सिट पाउनेछ ।’ राष्ट्रियसभाको सिटमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीति समन्वय समितिले भागबण्डा मिलाउने बुझिएको छ । सत्तारुढ गठबन्धन १९ वटै सिट जित्ने गरी रणनीति बनाएर अगाडि बढ्ने खोजेको छ ।
आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।