स्थायी समिति बैठकमा प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गदैँ, यी हुन् पदाधिकारीका आकांक्षी

केन्द्रभाग मिडिया

काठमाडौं ।
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । एक नेताका अनुसार प्रदेश र प्रवासबाट केन्द्रीय कार्यसमितिमा आकांक्षी केन्द्रीय सदस्यहरूको नाम पनि आजकै स्थायी समिति बैठकमा प्रचण्डले प्रस्तुत गर्ने भएका छन् ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व छनोट गर्न शनिबार नै निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ । जसअनुसार झन्डै साढे १७ सय मतदाता नामावली प्रकाशित भइसकेको छ ।

सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै आज दिउँसो २ बजेसम्म बन्दसत्र स्थगित गरिएको छ । स्थायी समितिबाट पास भएका १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिमा रहनेको नाम प्रचण्डले बन्दसत्रमा प्रस्तुत गर्ने भएका छन् ।

पदाधिकारीमा क–कसको सम्भावना 

माओवादी केन्द्रको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६, महासचिव, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष गरी १५ पदाधिकारी प्रस्ताव गरिएको छ ।

आकांक्षीको संख्या धेरै हुनाले एकातिर पदाधिकारी सर्वसम्मत बनाउन कठिन देखिएको छ भने समावेशी चरित्रको संरचनाका कारण अन्य आकांक्षीको व्यवस्थापन चुनौतीपूर्ण छ ।

६ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, मात्रिका यादव, हरिबोल गजुरेल र देव गुरुङ पर्ने सम्भावना छ । महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनको मुख्य दाबी छ । महासचिवमै पम्फा भुसालको पनि चर्चा छ ।

एक जना महासचिव हुँदा अन्य दुई जना उपाध्यक्षमा जान सक्ने स्रोतले जनाएको छ । दुई उपमहासचिव शक्ति बस्नेत, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, चक्रपाणि खनाल, गिरिराजमणि पोखरेलमध्येबाट हुने सम्भावना छ ।

उनीहरूमध्ये कतिपयले भने महासचिवमै दाबी गर्दै आएका छन् । सचिवमा केन्द्रीय सदस्य राम कार्की, खगराज भट्ट, हितमान शाक्य, उर्मिला अर्याल, जयपुरी घर्ती, ओनसरी घर्तीलगायतको चर्चा छ ।

  • १८ पुष २०७८, आईतवार १३:३२ प्रकाशित