सहमतिमै पदाधिकारी र सदस्य छान्दै माओवादीः पदाधिकारीमा क–कसको सम्भावना ? सूचीसहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले सहमतिमै पदाधिकारी र सदस्य घोषणाको तयारी गरेको छ ।हिजो चुनावबाटै नेतृत्व छान्ने बताएको माओवादी केन्द्रले अन्तत् सहमतिमै चयन गर्ने भएको हो । माओवादीले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी गरेको छ ।

यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ भने निर्वाचन कार्यतालिकासमेत संशोधन गरेको छ । शनिबार साँझ बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका लागि सहमति जुटेको भन्दै आइतबार १ बजे सम्मका लागि बन्दसत्र स्थगित गर्न गरेको प्रस्ताव हलले अनुमोदन गरेको थियो ।

केन्द्रीय कमिटीका लागि भूगोल सात र एक विशेष प्रदेश गरी आठवटै प्रदेशबाट केन्द्रीय कमिटी सदस्यका लागि क्लस्टर अनुसारका नाम सिफारिस भैसकेका छन् । केन्द्रीय कमिटीमा सहमति जुटेपछि माओवादीले केन्द्रीय पदाधिकारी पनि हलबाटै घोषणा गर्ने गरी तयारी गरेको बुझिएको छ ।

आइतबार बिहान ११ बजेसम्म केन्द्रीय पदाधिकारीका लागि सहमति जुटाउने र १ बजे सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पहिला घोषणा गर्ने त्यसपछि पदाधिकारी घोषणा गर्ने तयारी माओवादीको छ । नेकपा माओवादीले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ गरी १५ सदस्यीय पदाधिकारी रहने विधान पारित गरेको छ ।

त्यस्तै कुल केन्द्रीय कमिटी सदस्यमध्ये ५० प्रतिशत खुल्ला र ५० प्रतिशत समावेशी बनाउने गरी निर्वाचित गर्ने व्यवस्था गरेको छ । जसमा खुलातर्फ १४५ जना हुने छन् । भने समानुपातिकतर्फ सबै क्लस्टर मिलाएर १५४ जना निर्वाचित हुनेछन् ।

पदाधिकारीमा क–कसको सम्भावना 

माओवादी केन्द्रको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६, महासचिव, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष गरी १५ पदाधिकारी प्रस्ताव गरिएको छ ।

आकांक्षीको संख्या धेरै हुनाले एकातिर पदाधिकारी सर्वसम्मत बनाउन कठिन देखिएको छ भने समावेशी चरित्रको संरचनाका कारण अन्य आकांक्षीको व्यवस्थापन चुनौतीपूर्ण छ ।

६ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, मात्रिका यादव, हरिबोल गजुरेल र देव गुरुङ पर्ने सम्भावना छ । महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनको मुख्य दाबी छ । महासचिवमै पम्फा भुसालको पनि चर्चा छ ।

एक जना महासचिव हुँदा अन्य दुई जना उपाध्यक्षमा जान सक्ने स्रोतले जनाएको छ । दुई उपमहासचिव शक्ति बस्नेत, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, चक्रपाणि खनाल, गिरिराजमणि पोखरेलमध्येबाट हुने सम्भावना छ ।

उनीहरूमध्ये कतिपयले भने महासचिवमै दाबी गर्दै आएका छन् । सचिवमा केन्द्रीय सदस्य राम कार्की, खगराज भट्ट, हितमान शाक्य, उर्मिला अर्याल, जयपुरी घर्ती, ओनसरी घर्तीलगायतको चर्चा छ ।

  • १८ पुष २०७८, आईतवार ०८:२३ प्रकाशित