माओवादी महाधिवेशनबाट अन्य दलको भन्दा उत्कृष्ट विधान पारित, के– के छन् व्यवस्था ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (माओावादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले पार्टीको विधान पारित गरेपछि स्थगित भएको छ ।विधानमा उठेका विभिन्न समूहका प्रश्नको जवाफ देव गुरूङले दिएका थिए। जवाफ दिएपछि विधान पारित भएको हो।

विधान अनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ ।  निर्वाचन आयोगको नियनअनुसार समावेशी ४० प्रतिशत राख्नुपर्ने हुन्छ। तर माओवादीले भने ५० प्रतिशत समावेशी राख्ने भएको हो।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।
विधान पारित गरेसँगै अहिले पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा चलिरहेको छ ।

  • १७ पुष २०७८, शनिबार १३:१६ प्रकाशित