संवैधानिक पदाधिकारीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

संवैधानिक नियुक्ति विरुद्धका रिटमा बुधबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका पालामा भएका विभिन्न संवैधानिक नियुक्ति विरुद्धका रिटमा आजबाट सुनुवाई हुने भनिएको थियो ।

रिटमा विपक्षी बनाइएकाका तर्फका कानून व्यवसायीको ‘अब्जेक्सन’ पछि सर्वोच्चको संवैधानिक इजलासले रिटभाथिको सुनुवाइ स्थगित गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्त गर्ने तत्कालीन सरकारको निर्णयविरुद्ध दायर रिटमा बुधबारको संवैधानिक इजलासमा एकल सुनुवाइ हुने गरी पेसी तोकिएको थियो ।

विपक्षीका कानुन व्यवसायी रहेका वरिष्ठ अधिवक्ता सुशील पन्तले विपक्षी निकायलाई म्याद जारी नभएको तथा उनीहरुबाट पनि लिखित जवाफ माग गर्नुपर्ने भन्दै इजलाससमक्ष ‘अब्जेक्सन’ जनाएका हुन्

अख्तियारलगायत १२ विपक्षी निकायबाट लिखित जवाफ माग गर्ने आदेश माग गर्दै पन्तले इजलासमा पूरक निवेदनसमेत पेस गरेका छन्।

  • ११ श्रावण २०७९, बुधबार १५:५१ प्रकाशित