वीरगञ्ज ।
वीरगञ्जमा ४ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।
साउन ५ गतेदेखि हराइरहेकी वीरगञ्ज महानगरपालिका–२ छपकैयाँकी ४ वर्षीया बालिका साउन ७ गतेबिहान बलात्कारपछि विभत्स हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
बालिका साउन ७ गते बिहान वीरगञ्ज–२ छपकैयास्थित खाली जग्गाको झाडीमा विभत्स अवस्थामा मृत भेटिइएकी हुन् । बालिका हराएको भोलिपल्ट साउन ६ गते उनका हजुरबुबा मैनुदिन मिया ठकुराईले नातिनी हराएको भन्दै खोजी दिन प्रहरीमा निवेदन दिएको भोलिपल्ट बालिका मृत भेटिएकी हुन् ।
बालिकामाथि बलात्कार र हत्यामा संलग्न रहेको आंशकामा प्रहरीले ४ जना किशोरलाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा १२ वर्षीय बालक(जसको नाम खुलाइएको छैन) वीरगञ्ज–२ बस्ने १९ वर्षीय जफ्रुदिन भन्ने सलमान खान, वडा नं. १६ नगवा बस्ने १८ वर्षीय सलमान खान वीरगञ्जबाटै पक्राउ परेका छन् । भने घटनापछि दिल्ली फरार भएका १७ वर्षीय अभियुक्त(उनको नाम पनि खुलाइएको छैन)लाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
हत्यामा संलग्न बालकले नै बालिकाको शव झाडीमा रहेको पनि मृतक बालिकाको परिवारलाई बताएका थिए ।आरोपितहरू विरुद्ध जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा साउन ८ गते पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।














