विराटनगर।
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कसैलाई मन लाग्दैमा सङ्घीयता खारेज नहुने बताएका छन् । विराटनगरमा मङ्गलबार प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले नेपालको संविधान सहमतिमा बनेकाले कुनै एक जनालाई चाहना हुँदैमा सङ्घीयता खारेज नहुने बताए ।
‘संविधान हामीले सहमतिमा बनाएका हौं, हामी सहमतिभन्दा बाहिर छैनौं,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ‘केही व्यक्तिहरुलाई त्यस्तो लागेर छलफल गरे होलान्, तर त्यस्तो हुँदैन । हाम्रो संविधान संशोधनीय छ तर एउटाले चाहेर मात्र हुने कुरा होइन ।’
सम्पादकहरुसँगको कुराकानीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताका विषयमा बोलेको कुरालाई केही मिडियाले तिललाई पहाड बनाउन खोजेको उनको भनाई छ । ‘त्यो छलफलमा म पनि सँगै थिएँ, त्यहाँ बोलेका विषय सबै मैले सुनेको छु, अब कसले के टिपेर लग्यो हामीले जान्ने कुरा भएन । तर अध्यक्षले त्यस्तो बोल्नुभएको होइन’ पोखरेलले भने ।
अर्को प्रसङ्गमा नेता पोखरेलले गोपनीयताका कारणले एमालेका अर्थ तथा योजना विभागका सदस्य एम. अधिकारीको फोटो सार्वजनिक नगरेको प्रष्टीकरण दिए । यतिधेरै विवाद हुँदा पनि गभर्नरले नैतिकता नदेखाएको र एमालेले एम अधिकारीको फोटो किन सार्वजनिक नगरेको भन्ने प्रश्नमा नेता पोखरेलले गोपनीयताको प्रसङ्ग उठाए ।
‘व्यक्तिले आफ्नो पोजिसन बताएका छन्, सम्बन्धित दलले आफ्नो पोजिशन बताएको छ,’ उनले भने, ‘भनेपछि त्यसमा अरु किन खनजोत धेरै रु’ उनले राज्य सञ्चालनसँग गाँसिएका कुरामा गोपनीयता हुने भएकाले एम. अधिकारीको गोपनियता कायम बताए । ‘गोपनीयता हुुँदैन कतिपय राज्य सञ्चालनसँग गाँसिएका कुरामा ?’ उनले भने, ‘ राजनीतिक दलहरुभित्र यस्ता कतिपय कुराहरु हुन्छन्, सबै सार्वजनिक गर्नुपर्छ भन्ने हुन्छ ? हुँदैन नि ।’
नेपाली कांग्रेसको बैठकले आगामी प्रदेश तथा सङ्घीय चुनावमा गठबन्धन बनाउने निर्णय गरेको विषयमा उनले एमाले चुनावी प्रतिस्पर्धाका लागि तयार रहेको बताए । ‘सके एक्लाएक्लै नसके गठबन्धन बनाएर चुनावमा आउँदा हुन्छ भनेर हामीले भनिआएकै छौं,’ पोखरेलले भने ‘हामी देशव्यापी गठबन्धन गरेर होइन स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर चुनावमा जान्छौं ।’
वाम तालमेल गरेर चुनावमा जाने सम्भावना नभएको पनि उनले बताए । ‘वाम मोर्चा प्रिय लागेरमात्र भएन । वाम सरकार ढालेर अर्को सरकार बनाउनेहरू वाम हुन् कि हैनन् भन्ने प्रश्न पनि छ त्यसैले आगामी चुनावमा वाम तालमेल हुने सम्भावना अहिले देख्दिनँ ।’














