काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको आज ३६५ दिन पुरा अर्थात १ वर्ष पुगेको छ ।आफ्नो सरकारले एक वर्ष पुरा गरेको अवसरमा देउवा सरकारले आजको दिनसम्म गरेको ४३ काम सार्वजनिक गरेको छ ।
जसमा पूर्ववर्ती सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल भएको, स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रुपमा सम्पन्न गरेको, कोभिड(१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकतासहित खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण खोप दिलाउन सफल, कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सफल भएको बताइएको छ ।
त्यस्तै राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अवलम्बनदेखि लिएर संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेराजगारलगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था, क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता प्रदान गर्ने निर्णयसम्मका कुराहरू उल्लेख छन् ।
अमेरिकी सहयोग सम्बन्धि परियोजना एमसीसी संसदवाट अनुमोदन, भूमि आयोगको गठन गरी भूमिहिन तथा सुकुम्वासी पहिचान र पूर्जा वितरणको थालनी, पाँच लाख भूमिहिनलाई पुर्जा वितरण गर्ने घोषण, ज्येष्ठ नागरिकलाई ६८ बर्षमै भत्ता उपलब्धलगायतका बुँदाहरू सरकारले एकवर्षका कामका रूपमा उल्लेख गरिएको छ ।
सर्वोच्च अदालतले २०७८ असार २८ गते संसद विघटन बदर गर्दै २४ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
त्यसको दोस्रो दिन २०७८ असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
देउवा सरकारले एक वर्षमा गरेका महत्वपूर्ण काम हेर्न यहाँ क्लिक गर्नुहोस ।














