काठमाडौं ।
राष्ट्रिय एकता अभियानबाट संयोजक वामदेव गौतमलाई निष्कासित गरेका युवराज सफलले आफूहरूलाई ‘सुरक्षा थ्रेट’ आएको भन्दै गृहमन्त्री गुहारेका छन् ।
आइतबार मन्त्रालयमा उनले आफूसहितका केही नेतालाई जीउ ज्यानमा सुरक्षा खतरा भएकोले सुरक्षाकर्मी उपलब्ध गराइ पाउँ भनी निवेदन दिएका हुन् । युवराज सफलले दिएको निवेदनको दर्ता नम्बर १३४८४ रहेको छ ।
नेकपा एकता अभियानका सचिवालय सदस्य ओम चालिसेले आफूसहित केहीलाई जतिसुकै बेला जे पनि हुन सक्ने धम्की दिएको भन्दै सफलले गृह प्रशासन गुहारेका हुन् ।
‘हाम्रा सचिवालय सदस्य कृष्ण गोपाल बञ्झरासँग भेटी तिमीहरू चारजनालाई भौतिक कारबाही गर्छु जे पनि गर्छु ,प्रहरी प्रशासन लगाएर जेल हाल्छु भनी धम्की दिएको र अभियानको चार शीर्ष नेता संयोजक युवराज सफल ,सचिवालय सदस्य कृष्ण गोपाल बझरा, सचिवालय सदस्य मिननाथ देवकोटा र सचिवालय सदस्य नीलकण्ठ पौडेल समेतको जिउ ज्यानमा सुरक्षा थ्रेट भएको र जतिसुकै बेला जे पनि हुन्छ भन्ने धम्की दिएको हुँदा सो धम्की दिने ओम चालिसेलाई तत्काल प्रक्राउ गरी आवश्यक कारबाही गर्न तथा उल्लेखित सुरक्षा थ्रेट भएका नेताहरुलाई सुरक्षाको लागि सुरक्षाकर्मीको व्यबस्था गरिदिनु हुन यो निवेदन पेस गरेका छौँ ‘, निवेदनमा भनिएको छ ।
साथै उनीहरूले आफूहरूको ज्यानमा कहिँ कतै केही भए त्यसको जिम्मेवारी ओम चालिसे र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका सदस्यले लिनुपर्ने पनि बताएका छन् ।
आफूहरूसँग बहुमत रहेको भन्दै केही नेताले वामदेवलाई हटाएर युवराज सफललाई संयोजक तोकेका थिए । तर, वामदेवले काउण्टर निर्णय गर्दै हिजो युवराज सफलसहित पाँचजनालाई निष्कासन गरेका छन् ।















