पोखरा ।
लामो समयदेखि आन्दोलनमा उत्रेका मणिपाल शिक्षण अस्पतालका कर्मचारीले आन्दोलन रोकेका छन् । प्रशासनसँग सहमति भएपछि कर्मचारीले आन्दोलन रोकेका हुन् ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अमृतबाबु पौडेल र अस्पतालका प्रशासक भानु भारद्वाजले सहमति भएको बताए ।सहमति भएसँगै आज आइतबारदेखि पूर्णरुपमा ओपिडी सेवा चलेको अस्पताल प्रशासनले जनाएको छ ।आन्दोलित कर्मचारीले आफूहरुको माग पूरा गर्न भन्दै दैनिक ५ घण्टा ओपिडी सेवा बन्द गर्दै आएका थिए ।
दैनिक ६ सय बिरामीलाई ओपिडी सेवा लिने मणिपालमा कर्मचारी अवरोधले दैनिक २ सयले मात्र ओपिडी सेवा पाएका थिए ।
गत जेठ १८ देखि विभिन्न मागसहित धर्नामा बसेका कर्मचारीको मागमा सुत्केरी बिदा र किरिया बिदा श्रम ऐन बमोजिमनै हुने सहमति भएको बताइएको छ ।
२०७४ भन्दायता अस्पातालमा आवद्ध कर्मचारीले भने श्रम ऐन २०७४ बमोजिम नै उपदान पाउने सहमति जुटेको हो । सन् २०१० मा भएको सम्झौता अनुसार ५ वर्ष काम गरेका कर्मचारीले ३० प्रतिशत उपदान, १० वर्ष काम गरेकाले ६६ प्रतिशत, १५ वर्ष वा सोभन्दा बढी अस्पतालमा आवद्ध कर्मचारीले शत प्रतिशत उपदान पाउने सहमति भएको छ ।
यस्तै कर्मचारी युनियनका अध्यक्ष पौडेलको अनुसार कर्मचारीलाई ६० दिनभित्र स्थायी गर्ने सहमति भएको छ भने तलब वृद्धिको विषयमा ३० दिनभित्र समाधान खोजिने सहमति भएको छ ।