माओवादीको आरोप : ‘काँग्रेस इमान्दार नबन्दा लक्ष्यअनुसार नतिजा आएन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले काँग्रेस इमान्दार नबन्दा स्थानीय तहमा लक्ष्य अनुसारको नतिजा नआएको आरोप लगाएको छ ।

आजदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रैबाट भएको अन्तर्घात र काँँग्रेसको कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको बताएका हुन् ।

प्रचण्डले गठबन्धनमा पनि विशेषगरी काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको निष्कर्ष रहेको बताएका हुन् ।

माओवादीलाई हराउन गठबन्धनकै दलहरु लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताए । रुकुम, रोल्पा, कालीकोट जस्ता जिल्लाहरुमा अरु दल एकातिर र माओवादी एक्लै एकातिर हुनुपरेको पनि प्रचण्डले बताएको जनाइएको छ ।

‘हामीले गठबन्धनको धर्म र कर्मअनुसार काम गर्यौं । केन्द्रीय समझदारीअनुसार जानेमा हामी इमानदार देखियौँ’, प्रचण्डले भने, ‘उनीहरु (काँग्रेसलगायतका गठबन्धनका दलहरु) फाइदा जे हुन्छ त्यसैतिर लागे । विशेषगरी काँग्रेस त्यसमा अगाडि देखियो ।’

प्रचण्डले केन्द्रीय समिति बैठकमा अब गठबन्धनलाई कसरी अघि लैजाने भनेर छलफल हुने पनि बताए । उनले गठबन्धनलाई प्रभावकारी बनाउन सम्भव छ कि छैन भनेर पनि छलफल गरिने बताए । प्रचण्डले पार्टीभित्रका अन्तर्घातीहरुलाई पनि कारबाही गरिने बताएका छन्।

  • १९ असार २०७९, आईतवार १३:४७ प्रकाशित