काठमाडौं।
जापान सरकारले राजधानी टोक्योसहित आसपासका तीन करोड ७० लाख ग्राहकसँग सोमबार न्यून विद्युत खपत गर्न निर्देशन दिएको छ । जापानी समयअनुसार दिउँसो ३ बजेदेखि ३ घण्टासम्म अनावश्यक विद्युत नचलाउन सर्वसाधारणसँग अपिल गरेको हो ।
तातो हुरीका कारण विद्युत उत्पादन कम हुने भएकाले आपूर्ति कम हुने जापान सरकारले जानकारी दिएको छ । अनावश्यक विजुलीलगायतका विद्युतीय उपकरण बन्द गर्न निर्देशन दिए पनि आवास, गृह, कार्यालयलगायतमा चिसो पार्ने एयर कन्डिसनर भने चलाउन पाउनेछन् । तापक्रम बढिरहेकाले त्यहाँका अधिकारीहरुले हप्तौंदेखि विद्युतमा गडबढ हुने बताउँदै आएका थिए ।
गएको शनिबार टोक्यो शहरमा तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो भने राजधानीको उत्तरपश्चिममा रहेको इसेसाकी शहरमा ४०.२ डिग्री सेल्सियस मापन गरिएको थियो । यो तापमान जुन महिनामा जापानमा सबैभन्दा अत्याधिक हो । यसअघि सामान्यतः प्रत्येक वर्ष जुन महिनामा तापक्रम ३० डिग्री भन्दा कम हुन्थ्यो ।
हिजो आइतबार अर्थ, व्यापार र उद्योग मन्त्रालयको प्रतिवेदनमा आज सोमबार दिउँसोसम्म टोक्यो र आसपासका इलाकामा ३।७ प्रतिशतले विद्युत उत्पादन कम हुने उल्लेख छ ।
स्थायी पावर सप्लाईको आवश्यक मात्रामा ३ प्रतिशतको बफर मानिन्छ । यद्यपि, विद्युत गृृहहरुले उत्पादन बढाउनको लागि प्रयास गरे पनि आशातित सफलता पाएका छैनन् । ‘यदि विद्युतको माग बढ्यो र तत्काल विद्युत आपूर्तिमा समस्या भयो भने ‘रिजर्भ मार्जिन’ न्यूनतम आवश्यक ३ प्रतिशतभन्दा तल झर्छ ।’ मन्त्रालयको प्रतिवेदन उल्लेख छ ।
मार्च महिनामा उत्तरपूर्वी क्षेत्रमा आएको भूकम्पको कारण केही आणविक भट्टीहरुको सञ्चालनमा रोक लगाएपछि जापानमा विद्युत उत्पादन कम हुँदै आपूर्तिमा समस्या आएको हो ।
यस्तै, कार्वन डाइअक्साइड उत्सर्जन कम गर्न कोइलालगायतका जैविक ऊर्जा पावर हाउसहरु बन्द गरेपछि जापानमा ऊर्जा संकट बढेको हो । विद्युत गृह बन्द हुनु र अर्कोतिर विद्युतको माग बढ्नाले समस्या विकराल बन्दै गएको छ ।
यो महिनाको शुरुवाती दिनदेखि सरकारले स्थानीय उपभोक्ता र उद्योगहरुलाई यो गर्मीयाममा सकेसम्म विद्युतको उपभोग कम गर्न आह्वान गर्दै आएको हो ।
यसैबीच, जापानी समाचार संस्था ‘एनएचके’ले आइतबार तातो हुरीका कारणले विरामी परेका ४६ जनालाई अस्पतालमा भनौ गरेको समाचार प्रसारण गरेको छ । कावागोइ शहरका ९४ वर्षीय एक वृद्धको तातो हुरीका कारण मृत्यु भएको बताइएको छ ।
गतहप्ता अष्ट्रेलिया सरकारले त्यहाँका ऊर्जा संकट समस्या समाधान गर्न सिड्नी, न्यू साउथ वेल्सलगायतका शहरमा कम बत्ती बाल्न निर्देशन दिएपछि त्यहाँको समस्या समाधान भएको थियो