नेकपा एसमा भाँडभैलो : १० सांसदले बुझाए ८ बुँदे ध्यानाकर्षणपत्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्रीको विषयलाई लिएर भाँडभैलो सुरु भएको छ।

पार्टीको निर्णयलाई चुनौती दिँदै १० सांसदले मन्त्री हेरफेर हुन नसक्ने भन्दै अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण नै गराएका छन् । ८ बुँदे ध्यानाकर्षण पत्रमा बजेट अधिवेशन चलिरहेका बेला एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने उल्लेख गरिएको छ ।

यस्ता छ ध्यानाकर्षण पत्रको आठ बुँदा
१)आगामी आर्थिक वर्ष २०७९र८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न ।

२) पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठीक मान्न सकिँदैन ।

३) स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक(पटक आजैरभोलि नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न ।

४) मन्त्रीहरूले संसदमा बजेटसम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छोड्ने छौं भन्ने प्रतिबद्धतालाई कमजोरी ठानियो, यो व्यवहारप्रति हामी गम्भीर छौं ।

५) प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भीर असहमत छौं ।

६) पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सही मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागिता नभएको, गैरसांसद र एकै जिल्लाबाट दुईजना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं ।

७) मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टीम पूरै फिर्ता र नयाँ टीम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न जोडदार माग गर्दछौं। यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउनसमेत माग गर्दछौं ।

८) यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउनसमेत माग गर्दछौं ।

  • १० असार २०७९, शुक्रबार १५:४५ प्रकाशित