काठमाडौं ।
वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष हरिहर दाहाल हुण्डी प्रकरणमा मुछिएका छन् ।
अधिवक्ता दाहाल र अधिवक्ता युवराज भण्डारीमाथि छानबिन गर्न माग गर्दै कानून व्यवसायी प्रेमसिंह धामीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दिएको निवेदन आफैंले सार्वजनिक गर्दै न्यायपरिषदको समेत ध्यानाकर्षण गराएका छन् ।
ललितपुर जिल्लाको एउटा जग्गा कारोबारमा भएको ३२ करोड रूपैया हुण्डीबाट भारतलगायतका देशमा गएको र यसमा वरिष्ठ अधिवक्ता दाहाल नै संलग्न रहेको भन्दै धामीले अख्तियारमा निवेदन दिएका थिए ।
३ रोपनी ७ आना जग्गाको हकमा २०७४ पुस १७ गते अल्कानन्द सेन गुप्ताको वारेस अमृतकुमार केसीले ललितपुर जिल्ला अदालतमा विनेदनसहित २ करोड ३ लाख ४ हजार ८३६ रूपैयाँ नगद नै जम्मा गरेको र उक्त रकम वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता भण्डारीको संयुक्त अफिसबाट नगद नै जम्मा भएको देखिएको धामीको दाबी छ ।
उक्त जग्गा दिने अल्कानन्द सेन गुप्ता, लिपिसेन गुप्ता, उर्मीसेन गुप्ता र लिने भाइराजा अवाले, कृष्ण अवाल, राम अवाले, श्यामकाजी अवाले, केदार अवालेसमेत भएको राजीनामा लिखतमा उल्लेखित ३२ करोड रूपैयाँको प्रकरणमा वरिष्ठ अधिवक्ता मुछिएका हुन् ।
उक्त ३२ करोड रकम जुनसुकै बैंकको गुड फर पेमेन्ट चेक पेस गरी जग्गा राजीनामा गरी लिनुपर्नेमा ललितपुर मालपोत कार्याल्यका कर्मचारीसँग मिलेमतो गरी डोरमार्फत जग्गा राजीनामा गरेको अख्तियारमा धामीले दिएको निवेदनमा उल्लेख छ ।