काठमाडौंको फोहोर बोकेर गएको टिपरलाई बन्चरे डाँडामा स्थानीयले रोके

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंबाट फोहोर बोकेर गएको टिपरलाई बन्चरेडाँडाका स्थानीयले फेरि रोकेका छन् ।हिजो मात्रै विभिन्न सहमति भएसँगै आजबाट फोहोर उठाएर गएका टिपरलाई स्थानीयले अवरोध गरेका हुन् ।

ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति सोमबार सिंहदरबारमा भएको सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिबेंसी नगरपालिका, ककनी गाउँपालिकाबीच भएको सहमति अमान्य भएको भन्दै पुनः आन्दोलनमा उत्रिएको छ ।

सोमबार प्रभावित क्षेत्रका स्थानीय पालिकासँग महानगर र मन्त्रालयले सहमति गरेपछि उपत्यकाको फोहोर विसर्जन हुने अपेक्षा गरिएपनि स्थानीयवासीले त्यसको विरोध गर्दै मंगलबार बिहानदेखि बन्चरे डाँडामा भेला भएका छन् । फोहोर विसर्जनका लागि गएका टिपरहरुलाई उनीहरुले अवरोध गरेका छन् ।

सरोकार समितिका संयोजक श्रीराम भण्डारीले आफूहरुले बाँच्‍न पाउने अधिकारको सुनिश्चता नभईकन फोहोर विसर्जन गर्न नदिने बताए ।सरोकार समितिले आफूहरूको माग सडक नभएर ुस्वच्छ वातावरणमा बाँच्‍न पाउनुपर्नेु माग भएको जनाएको छ ।त्यहाँका स्थानीयले फोहोर बन्चरेडाडामा व्यवस्थापन गर्ने हो भने आफुहरुलाई सुरक्षित स्थानमा सार्न माग गरेका छन् ।

सरोकार समितिले बन्चरे डाँडा पूर्णरुपमा निर्माण सम्पन्न हुन नपाउँदै फोहोर विसर्जन हुन थालेको भन्दै पनि आपत्ति जनाएको छ ।

  • २४ जेष्ठ २०७९, मंगलवार १०:४१ प्रकाशित