दुई दिन बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

केन्द्रभाग मिडिया

सरकारले सातामा दुई दिन बिदा दिने गरेको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै केही अधिवक्ताहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। दुई दिन विदाले दुरगामी असर पार्ने भन्दै यसविरुद्ध अधिवक्ताहरु सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्य प्रसाद खतिवडा, त्रिलोक चन्द, दिपक खनाल र तेज कुमार लोहीले रिट दर्ता गराएका हुन्।

रिटको मंगलबारका लागि पेसी तोकिएको सर्वोच्चले जनाएको छ। सरकारले गत जेठ १ बाट लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको रिटमा अध्ययनबिनै हचुवाको भरमा गरिएको यस्तो निर्णयबाट मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य क्षेत्रमा जटिलता देखिने भएकाले खारेजीको माग गरिएको छ।

  • २३ जेष्ठ २०७९, सोमबार १६:५९ प्रकाशित