देउवाको विकल्प खोज्नेगरि प्रचण्ड, माधव र उपेन्द्र आन्तरिक छलफलमा

केन्द्रभाग मिडिया

काठमाडौं।

स्थानीय तहको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी, पार्टी नेपालका शीर्ष नेताहरु नेपाली कांग्रेससँग असन्तुष्ट बनेका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले हिजो (शनिबार) पार्टीको सचिवालय बैठकमार्फत गठबन्धनप्रति कांग्रेस इमानदार नभएको निश्कर्ष निकालेको छ। उता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि कांग्रेसले स्थानीय तहको निर्वाचनपछि दम्भ र अहंकार पालेको भन्दै यस्तै दम्भ पाले एमालेको जस्तो हालत बनाईदिने चेतावनी दिएका छन् ।

उनीपनि कांग्रेससँग रुष्ट छन् । गठबन्धनकै प्रमुख घटक जसपाका अध्यक्ष उपेन्द्र यादव त झनै कांग्रेससँग असन्तुष्ट छन्। कांग्रेसले चुनावी गठबन्धनमा इमानदारिता प्रदर्शन नगरेको विराटनगरको उपमेयरमा छोराले पाएको मतबाट प्रष्ट भएको गुनासो राख्दै आएका छन् ।

गठबन्धनमा सँगै रहने, धोका पनि दिने काम भयोः जसपा नेता

पछिल्लो समय गठबन्धनमा आवद्ध पाँच दलमध्ये यी तीन दलका शीर्ष नेताहरु छुट्टै छलफलमा समेत व्यस्त हुने गरेका छन् । विशेष सूत्रका अनुसार प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव प्रधानमन्त्री शेरबहादुर देउवाको विकल्प खोजेर भएपनि अब अघि बढ्नुपर्ने निश्कर्षमा पुगेका छन् ।

यही सन्दर्भमा जसपाका अध्यक्ष यादवले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर गम्भीर राजनीतिक सम्वाद गरिसकेका छन् । प्रचण्ड र माधव नेपालले पनि सार्वजनिक रुपमै आफूहरुलाई प्रधानमन्त्री बन्न अफर आएको खुलासा गर्ने गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि कांग्रेस नेताहरुसँग रुष्ट छन् । उनले आगामी संघीय संसद्को निर्वाचनमा वाम गठबन्धन हुनुपर्ने भनेर वकालत गर्न थालिसकेका छन् ।

प्रधानमन्त्री देउवामाथि स्थानीय तहको निर्वाचनपछि एक्लै अघि बढ्न खोजेको र गठबन्धनमा आवद्ध दललाई सम्मानजनक व्यवहार नगरेको आरोप लाग्न सुरु भएको छ ।

दाहाल, नेपाल र यादव त पछिल्लो समय सरकारको पफर्मेन्सबाट सन्तुष्ट छैनन् । गठबन्धनमै आवद्ध दलका केही नेताले भने तत्काल देउवाको विकल्प खोज्नेगरि अघि बढ्नुपर्ने पनि धारणा राख्न थालेका छन् ।

  • २२ जेष्ठ २०७९, आईतवार १०:१७ प्रकाशित