देउवा र महन्थ ठाकुरबीच भेटवार्ता : लोसपालाई पनि गठबन्धनमा जोडेने तयारी

केन्द्रभाग मिडिया

काठमाण्डौ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

आज शनिवार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सकिएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नु भएको थियो ।

दुई नेताबीच सङ्घ र प्रदेशको आउँदो चुनावमा कसरी जाने भन्नेबारेमा छलफल केन्द्रित भएको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । उनले प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई बैठकका लागि बोलाउनुभएको र त्यसमा आउँदो सङ्घ र प्रदेशको चुनावमा हुने गठबन्धनबारे छलफल केन्द्रित भएको बताए ।

यसैबीच लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि आइतवार बिहान ११ बजे पनि बोलाइएको छ । बिजुली बजारमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पालिका चुनावको समीक्षा गरी आउँदो सङ्घ र प्रदेशको चुनावको आन्तरिक तयारीको बारेमा विस्तृत छलफल हुने केन्द्रीय कार्यकारिणी सदस्य झाले बताए ।

  • २१ जेष्ठ २०७९, शनिबार १७:२४ प्रकाशित