आज सपथ लिँदै पोखराका जनप्रतिनिधि, पुष्पलालको शालिकमा माल्यार्पण गरेर डिभाइडरमा फूल रोपिने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरमा निर्वाचित जनप्रतिनिधिले आज पोखरा सभागृहमा शपथ लिँदैछन् । शपथका लागि बिहान साढे नौ बजेका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले समय निर्धारण गरेको छ ।

मेयर आचार्यले शपथग्रहणपछि पोखराको जिरो किलोमिटरदेखि हल्लन चोकसम्मको सडक डिभाइडरमा फूल रोपेर पदभार ग्रहण गर्ने योजना रहेको जानकारी दिएका छन् । आचार्यका अनुसार उनले फूल रोप्नुअगाडि पुष्पलाल पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गर्नेछन् ।

त्यसपछि सबै निर्वाचित जनप्रतिनिधिले डिभाइडरमा फूल रोप्नेछन् र दिउँसो पदभार ग्रहण गर्नेछन् । नवनिर्वाचित मेयर धनराज आचार्यले तोकिएकै समयमा काम सम्पन्न गरेर एक महिनाभित्र महानगरको सेवा प्रवाहमा नगरवासीले महसुस गर्ने गरी सुधार ल्याउने दाबी गरे । उनले अविरजात्रामा समय खेर फाल्ने पक्षमा आफूहरू नरहेको बताएका छन् ।

उनले १० दिनसम्ममा सबै वडामा पुग्ने र धन्यवादसहितको भेटघाट कार्यक्रम गर्ने बताए । ‘हामी अबिरजात्रामा समय खेर फाल्ने पक्षमा छैनौँ । मात्र १० दिन सिम्बोलिक रूपमा ३३ वटै वडाका निश्चित ठाउँमा जान्छौँ र त्यसपछि योजनाका साथ अगाडि बढ्छौँ,’ उनले भने ।

मेयर आचार्यले यसै महिनाको अन्त्यमा विज्ञ र पूर्वमेयरहरूका अनुभव सुन्न र कार्यशैली परिवर्तनका लागि ‘क्लोज क्याम्प’ गर्ने जानकारी दिए । क्लोज क्याम्प तीन दिन दुई रातको हुने उनले जानकारी दिए । ३३ वटै वडाका वडाध्यक्षसहित आफू र उपमेयर सहभागी हुने क्लोज क्याम्पमा मोबाइलसमेत निषेध गरिने उनले बताए ।

त्यसपछि एउटै स्पिरिटका साथ मेयरदेखि वडाध्यक्ष र सदस्य सबैले काम गर्ने उनको भनाइ छ । ‘त्यो तीन दिन मोबाइल बज्नेछैन । हामी सिंगो पोखराभित्र कस्तो सिस्टम राख्ने भन्ने विधि बनाउँछौँ । भनसुन गर्नुपर्ने दिन पोखरामा सकिएछन् भन्ने महसुस हामी नगरवासीलाई गराउँछौँ,’ उनले भने ।

उनले कम महत्वका कार्यक्रममा समय नबिताउने प्रतिबद्धता पनि जनाएका छन् । शपथ लिँदा नै अनुशासनसहित उपस्थित हुन र कोडको पालना गर्न उनले वडाध्यक्ष र सदस्यहरूलाई आग्रह गरेका छन् ।

 

  • १२ जेष्ठ २०७९, बिहीबार ०६:४९ प्रकाशित