आपूर्तिमन्त्री बडू भन्छन्,‘ पेट्रोलको भाउ अझै चर्किन सक्छ, निगमलाई मूल्य घटाउ भन्न सक्ने अवस्था छैन ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलको मूल्य घटाउ भन्न सक्ने अवस्था नरहेको बताएको छन् । नेपाल आयल निगम दैनिक घाटामा गएको भन्दै सरकारले निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्न सक्ने अवस्था नरहेको बडूले बताएका हुन् ।

आज मङ्गलवार १५ विद्यार्थी सङ्गठनले मन्त्री बडूलाई संयुक्तरूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको मागसहितको ध्यानाकर्षण पत्र बुझाएका थिए । मन्त्री बडूले पत्र बुझ्दै आयल निगम दैनिक ६ अर्ब ७१ करोड रुपैयाँ घाटामा रहेकाले पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्न नसकिने बताए ।

मन्त्री बडुले अझै पनि निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा, डिजलमा प्रतिलिटर २६ रुपैयाँ ८२ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर आठ सय ७९ रुपैयाँ ७५ पैसा घाटा बेहोरिरहेको बताए ।

उनले विश्वबजार र नेपाल आयल निगमको अवस्थालाई ध्यानमा राखेर केही विकल्प दिनु सरकारको दायित्व भएको उल्लेख गर्दै त्यसका निम्ति सरकार लागिरहेको बताए ।

उनले भने, ‘अझ पनि बढ्न सक्छ । अब अझ चर्किन सक्छ । रुस र युक्रेनको युद्धपछि अझ विश्वबजारमा अभाव देखिएको हो । त्यस कारण यो अवस्था कहिलेसम्म जाने हो ? फेरि अझ के अवस्था होला ? त्यसको विकल्प के गर्ने सरकारको दायित्व हुन्छ । सरकार त्यसमा लागिरहेको छ ।’

मन्त्री बडूले पेट्रोलियम पदार्थमा लागेको करको दायरामा केही छुट दिनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पुगेको पनि बताए ।

  • १० जेष्ठ २०७९, मंगलवार १६:४४ प्रकाशित