काठमाडौं ।
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज भएको चुनावको मतदान सकिएको छ ।
सिहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजे १० बजेसम्म मतदानको समय तोकिएको थियो । यद्यपि मतदान ढिला गरि सुरु भएको थियो । चुनावमा ८८ जना सांसदले मतदान गरेका छन् । सांसद माया राई सुत्केरी भएर अस्पतालमा रहेकाले उनलाई त्यहीबाट मतदान गर्ने व्यवस्था मिलाईएको थियो ।
कांग्रेसका ८९ जना सांसद भए पनि टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् । कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा सिधा स्पर्धामा उत्रिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ७८ वर्षीय देउवा र ४६ वर्षीय थापाले मंगलबार सँगै उम्मेदवारी दर्ता गराएका थिए ।













