कांग्रेस संसदीय दलको निर्वाचन : देउवा र थापा मैदानमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।बिहान ८ बजे मतदान सुरु गर्ने भनिए पनि यो समाचार तयार पार्दासम्म भने मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको मात्र उम्मेदवारी परेको छ । सभापति देउवा र महामन्त्री थापाले मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका हुन्।

पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बनेका छन् । उनको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।

महामन्त्री थापाको प्रस्तावकमा कांग्रेस नेता डा शेखर कोइराला तथा समर्थकमा पार्टीका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन् ।

  • ६ पुष २०७९, बुधबार ०८:३९ प्रकाशित