पोखरा ।
२२ औं आहा ! रारा पोखरा गोल्डकपमा १० टिमको टुंगो लागेको छ । यही पुस १४ देखि २३ सम्म पोखरा रंगशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि भएको छ ।
सहारा क्लब पोखराले यसअघि पुस १२ देखि २३ सम्म प्रतियोगिता संचालन गर्ने भनी एन्फाबाट समयतालिका प्राप्त गरेकोमा १३ गतेको मैत्रीपूर्ण खेलका कारण २ दिन पछि सरेको हो । त्यसैले यसअघि १२ टिम भनिएकोमा १० टिमको छिनोफानो भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाईएसस्सी, मछिन्द्र, नेपाल प्रहरी फुटबल क्लब, संकटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने छन् । गत वर्षको विजेता एपिएफ र उपविजेता मनाङ मस्याङ््दी क्लब हुन् ।
यस्तै, विजेताले १२ र उपविजेताले ६ लाख प्राप्त गर्ने छन् । प्रथम पुरस्कारमा २ र दोस्रोमा १ लाख वृद्धि गरिएको हो । २०५८ सालमा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औं संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता संचालन हुन लागेको हो ।















