काठमाडौं ।
प्रतिनिधिसभाका सांसदहरुले मातृभाषामा शपथ लिन पाउने संघीय संसद सचिवालयले जनाएको छ।
त्यसका लागि शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा ९२० बमोजिम संघीय संसद सचिवालयमा उपलब्ध गराउनुपर्ने छ ।
संघीय संसद सचिवालले मंगलबार जारी गरेको सूचनामा दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि सांसदहरुलाई अनुरोध पनि गरिएको छ ।
शपथ ग्रहण कायर्यक्रम बिहीबार दिउँसो १ बजेदेखि सुरु हुने भएपनि नवनिर्वाचित सांसदहरुलाई ११ बजे नै प्रतिनिधि सभा बैठक कक्षमा पुग्न संसद सचिवालयले सूचित गरेको छ ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जेष्ठ सदस्यले सांसदहरुलाई शपथ गराउने तय भएको छ । संविधानको धारा ८८ बमोजिम संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ ।
सोही अनुसार शपथ ग्रहण कार्यक्रममा सांसदहरु निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्र ९सक्कल तथा एकप्रति प्रतिलिपी०, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालैको पासपोर्ट साइजको फोटो दुईप्रति सहित उपस्थिति हुनुपर्नेछ ।













