उपचारपछि स्वदेश फर्किए वर्षमान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन् ।

उनी चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । उनलाई माओवादी नेताहरु शालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेल, डिपी ढकाल, दुर्गा चापागाईं, अमनलाल मोदी, रन्जित तामाङ र सरल भाटलगायत विमानस्थल पुगेका थिए ।

वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको थियो ।

नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा तारन्तार बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । उपचारपछि भने ती समस्या हटेको छ । उपचारमा जानुअघि पुनको शरीरमा जण्डिस ९बिलरुबिन० को मात्रा २७ बिन्दु थियो ।

हाल बिलरुबिनको मात्रा घटेर १८ मा आएको छ । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा‘‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो ।

  • ५ पुष २०७९, मंगलवार १५:२९ प्रकाशित