अपमानित महसुस भए दलित थर परिवर्तन गर्न पाइने

केन्द्रभाग मिडिया

काठमाडौं ।

अब दलित समुदायका नागरिकले आफ्नो जातभित्रको थर राख्न पाउने भएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दलित थर परिवर्तन गर्न पाउने निर्णय गरेको छ । आफूलाई असहज लागेमा वा अपमानित महसुस भएमा सम्बन्धित व्यक्तिले आफ्नो जाति भित्रको थर राख्न पाउने भएका हुन् ।

नागरिकता, जन्मदर्ता जस्ता कागजातमा लेखिएका दलित थर परिवर्तन गर्न खोज्दा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले नमिल्ने बताएपछि विभागले थर परिवर्तन गर्न पाउने निर्णय गरेको हो ।

विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालका अनुसार राष्ट्रिय दलित आयोगले सूचिकृत गरेका थर राख्न र परिवर्तन गर्न पाउनेगरी विभागले निर्णय गरेको हो ।

निर्देशक ढकालले भने, ‘स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा थर परिवर्तनको निवेदन आए पनि परिवर्तन नहुने समस्या देखियो । त्यसैले हामीले दलित आयोगले बनाएको सूचि अनुसार थर परिवर्तन गराउनु भनेर निर्देशन दिएका हौं ।’

राष्ट्रिय दलित आयोगले दलितका २५ वटा जाति अन्र्तगत पर्ने थरको सूचि बनाएको छ । विभागका अनुसार थर परिवर्तन गर्न चाहानेले आयोगले बनाएको सूचिभित्र रहेका थर परिवर्तन गर्न पाउनेछन् ।

विभागका निर्देशक भन्छन्, ‘विश्वकर्मा जाति हो, यहाँ भित्र अनेक थर छन् । परियार पनि जाति हो त्यहाँभित्र अनेक थर छन् । आफूलाई असहज लागेको, अपमानित महसुस भएमा सम्बन्धित व्यक्तिले आफ्नो जाति भित्रको थर राख्न पाउँछन् ।’

सरकारले २०५२ सालदेखि नै दलितले सम्मानजनक थर राख्न र परिवर्तन गर्न पाउने निर्णय गर्दै आएको छ । सरकारले पहिले नै गरेको निर्णय सहज रुपमा लागु गराउन विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको बताएको छ ।

विभागले यसपटक नागरिकतामा मात्र नभई जन्मदर्ताको प्रमाणपत्रमा पनि थर परिवर्तन गर्न पाउने निर्णय गरेको छ ।

  • ५ पुष २०७९, मंगलवार १५:१६ प्रकाशित