पोखरा ।
नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण पुस ६ गतेदेखि सुरु हुने भएको छ। बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको फेस्टिबल यही पुस ६ देखि ११ सम्म वाराहीघाट, लेकसाइड पोखरामा हुने भएको हो ।
फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजकले जनाएको छ । फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिने भएको छ ।
यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सह प्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूको सहभागिता हुँदै छ ।
साथमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा। भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुविन भट्टराई, संगीतकर्मी रज्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका कुमा लिम्बूलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ । साथै यस वर्ष फरक क्षमता भई अब्बल रहेको व्यक्तित्वहरु, दार्चुला, गोरखा मनाङका स्थानीय जनप्रतिनीधिहरुको पनि उपस्थिती रहनेछ ।
फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुती रहेका छन् । फेस्टिभलको पूर्व सन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुती रहनेछ ।
यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान छ । यसैगरी फेस्टिभलको प्रर्वद्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ ।













