बागलुङ ।
बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।
उनका अनुसार गत वर्ष यहाँ कुल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट तीन हजार छ सय ५० मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष जिल्लाभर रु २० करोड सात लाख ५० हजारको सुन्तला उत्पादन भएकामा यस वर्ष अनुकूल हावापानीले गर्दा उत्पादन वृद्धि भएर चार हजार तीन सय ८० मेट्रिक टन पुगेको प्रमुख भट्टराईको भनाइ छ ।
यस वर्ष जिल्लामा २४ करोड नौ लाखभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको उनको भनाइ छ ।