बृद्धाहरुबाट २७ लाख भन्दा धेरै मूल्यका गहना र नगद चोर्ने टिका श्रेष्ठ पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका विभिन्न ठाउँमा बृद्धाहरु फाकाएर २७ लाख भन्दा बढी मुल्य पर्ने गरगहना चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले दिएको जानकारी अनुसार पर्वतको मोदी गाउँ पालिका ६ घर भई हाल पोखरा ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठलाई बुधबार पक्राउ गरिएको हो ।

पोखरा बजारको विभिन्न स्थानबाट बृद्धा महिलाहरूको घरमा परिवारको अन्य सदस्यहरू नभएको मौका पारी ललाई फकाई गरी भुलाई घाँटी तथा कानमा लगाएको र घर कोठामा राखेको विभिन्न किसिमको सुनका गहना र नगद रुपैयाँ चोरी हुने घटना बढेको उजुरी पछि अनुसन्धान गर्दा उनी पक्राउ परेकी हुन् ।

उनले पोखरा ११ रानीपौवाकी ७८ वर्षीया बृद्धा दुर्गा कुमारी पाध्य, पोखरा १३ पाटनबेशीकी ८३ वर्षीया रिखी माया सापकोटा, पोखरा १२ माटेपानीकी ७० वर्षीया तिल कुमारी थापा, पोखरा ४ गैह्रपाटन ७९ वर्षीया लक्ष्मी कोइराला, पोखरा १२ उपकर मार्गकी ९० वर्षीया शान्ति माया गुरुङ, पोखरा ११ फुलवारीकी ८७ वर्षीया ठग कुमारी महत क्षेत्री, पोखरा १५ गलेश्वर मार्गकी ५४ वर्षीया सिता माया गिरी, पोखरा २७ की ६५ वर्षीया मधु माया पौडेल र पोखरा १० मिलन टोलकी ८२ वर्षीया डुमा देवी थापाले लगाएका र उनीहरुको घरमा समेत रहेका गहना चोरी गरेकी जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्ले जानकारी दिए ।

प्रहरी निरीक्षक खडकाका अनुसार श्रेष्ठले ति बृद्धा महिलाहरुबाट सुनको सिक्री, तिलहरी, झुम्का, पञ्चरत्ने बाला, औठी, टप, सुनको बाला, सोवकी, मंगलसुत्र, चुरी, चन्द्रामा, बाला र नगदसहित २७ लाख दुई हजार ५८ रुपैयाँ बराबरको चोरी गरेकी छन् ।

पक्राउ परेकी टिका श्रेष्ठलाई जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी निरीक्षक खड्ले जानकारी दिए ।

 

  • १ पुष २०७९, शुक्रबार ०७:४६ प्रकाशित