वायुसेवा निगममा क्याबिन क्रु आन्दोलित, उडान प्रभावित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल वायुसेवा निगममा क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् । दुई जना एयर होस्टेसको करार नवीकरण नभएको विषयलाई लिएर क्याबिन क्रु आन्दोलनमा उत्रिएका हुन्।

निगम मातहतका नेपाल वायुसेवा क्याविन क्रु संघले बिहीबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको छ । क्याबिन क्रु आन्दोलित बन्दा उडान प्रभावित बनेको छ भने यात्रुलाई सास्ती भएको छ ।

निगममा हरेक ५ वर्षमा क्याबिन क्रुको करार नवीकरण हुन्छ । यसक्रममा दुई जना एयर होस्टेसको तोकिएको योग्यता नपुगेको भन्दै करार नवीकरण गर्न व्यवस्थापनले नमानेपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुको आन्दोलनका कारण बुधबार र बिहीबारका अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् ।

निगम स्रोतका अनुसार बुधबार काठमाडौंबाट दोहा र दुबई उड्नु पर्ने जहाजहरु तीन घण्टा डिले गरी उडेका थिए । बिहीबार काठमाडौंबाट साउदीको रियाद र भारतको नयाँ दिल्ली उड्नु पर्ने जहाजहरु समेत क्रुको आन्दोलनका कारण प्रभावित बनेका छन् ।

  • २९ मंसिर २०७९, बिहीबार १५:११ प्रकाशित