काठमाडौं।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न यान्त्रिक परीक्षण उडान ९क्यालिब्रेसन०को प्रतिवेदन शुक्रबार आउने भएको छ ।
पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी रहेको उक्त विमानस्थलमा एरोथाईको टोलीले मङ्सिर ५ देखि ११ गतेसम्म क्यालिब्रेसन उडान गरेको थियो ।
विमानस्थलमा जडान भएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे नगरेको परीक्षण प्रतिवेदनका आधारमा विमानस्थलमा परीक्षण उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार एरोथाईको टोलीले गरेको एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका बत्ती, सञ्चार उपकरणले काम गरे नगरेको लगायतका परीक्षणको प्रतिवेदनका आधारमा परीक्षण उडान हुनेछ ।
कम्युनिकेसन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण प्रतिवेदनका आधारमा जहाज उडान तथा अवतरणको बाटो खुल्ने उनले बताए । परीक्षण उडानको प्रतिवेदन आएपछि रुट स्थापित गराएर विमानस्थल व्यावसायिक उडानका लागि खुला हुने उनले बताए ।
विमानस्थल सञ्चालनको तयारीअनुसार नागरिक उड्डयन कार्यालय पोखराले विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिसकेको छ ।














