जनकपुरधाम । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोपमा महोत्तरी रामगोपालपुर–५ का डा.पंकज चौधरी पक्राउ परेका छन् ।
श्रीमानबाट दाइजोको निहुँमा घरेलु हिंसामा परेको भन्दै नेहाले सामाजिक सञ्जालमा न्यायका लागी याचना गरेकी थिइन् । माइतीमा बस्दै आएकी नेहा हिजो मंगलबार घर गएपनि उनलाई पस्न नदिइएको बताइएको छ । त्यसपछि उनी घरको मूलढोकाअघि धर्ना दिएर बसिन् । त्यसपछि प्रहरीले बाध्य भएर पंकजलाई पक्राउ गरेको बताइएको छ ।
मंगलवार साँझ पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले पुष्टि गरेका छन्। उनले घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दामा पंकजलाई पक्राउ गरेको बताए । पंकजले परिवारको साथमा मिलेर आफ्नै श्रीमतीलाई दाइजोको विषयमा टर्चर गर्ने गरेको नेहाको आरोप छ । नेहाले पंकजसँगै उनकालाई पनि पक्राउ गर्नुपर्ने माग गरेकी छिन् । यद्यपि यतिबेला उनको परिवार भने फरार रहेको बताइएको छ ।
महोत्तरीको औरही–१ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर–५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरू गरेका थिए । दसैँको टीकाको दुई दिनपछि नेहालाई श्रीमान्को टोकाइ र कुटपिटबाट थिलथिलो भएको अवस्थामा माइतीले उद्धार गरेर अस्पताल पु¥याएका थिए ।
नेहाको परिवारका अनुसार विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०–६० लाख चाँदीका गहना दाइजो दिइएको छ । तर, बिहेपछि पंकजले काठमाडौंमा घरसमेत दिनुपर्ने डिमान्ड राख्न थालेका थिए । दाइजोको विवादकै कारण विवाहको केही महिनादेखि श्रीमान् र सासूले आफूलाई यातना दिने गरेको नेहाको आरोप छ ।














