राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान लचक

केन्द्रभाग मिडिया

काठमाडौं।
पहिलो पटक संसदमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि आगामी नयाँ सरकारमा सहभागी हुन लचक देखिएको छ ।

संसदको चौंथो शक्तिका रुपमा स्थापित रास्वपाले केही न्यूनतम सर्तहरु अघि सार्दै आगामी सरकारमा सहभागी हुने विषयमा छलफलको ढोका खुला गरेको हो ।

सभापति रवि लामिछाने सरकारमा सहभागी भएर तत्काल आफूहरुलाई परीक्षामा उतानुपर्ने पक्षमा छन्। यद्यपि केही नेताहरुले चाहिं अहिलेको लोकप्रियता खस्किन नदिन पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्नेमा जोड दिइरहेका छन् ।

औपचारिक रुपमा सरकारमा जाने वा नजाने विषयमा छलफल नगरीए पनि अनौपचारिक कुराकानीहरु भइरहेको रास्वपा प्रवक्ता डा. मुकुल ढकालले बताए ।

कुनै परिवर्तनको अनुभूतिविना मन्त्री बन्नमात्रै भने सरकारमा नजाने ढकाल बताउछन्। पार्टीभित्र पुरानै अनुहारलाई स्वीकारेर सरकारमा सहभागी नहुन पनि कार्यकर्ताको दबाब छ।

रास्वपाले भ्रष्टाचार न्यूनीकरण र देश बाहिर रहेका युवाहरुलाई पनि मताधिकार दिनुपर्ने विषयलाई लाई मुख्य एजेन्डा बनाएको छ। रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी २० सीट जितेको छ ।

  • २७ मंसिर २०७९, मंगलवार १३:५५ प्रकाशित