बागलुङ ।
बागलुङ नगरपालिका–८ सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन बोटका सुन्तला एकमुष्ठ ४५ हजारमा पोखराका व्यापारीलाई बिक्री गरे।
केसी मात्रै होइन् सिगानाका सुन्तला किसान टोपबहादुर केसीले आफ्नो सुन्तला बगान २ लाख रुपैयाँमा व्यापारीलाई बिक्री गर्ने सम्झौता गरिसकेका छन् भने अर्का किसान लेखनाथ गौतमले एक लाख ८० हजार रुपैयाँमा आफ्नो बगानमा रहेका सुन्तला बिक्री गरे।
अचेल सिगानाका अधिकांश सुन्तला किसानले व्यापारीले बोटबाटै टिपेर सुन्तला लैजानेगरी सम्झौता गर्ने गरेका छन् भने केहीले आफैँ टिपेर पोखरा पठाउने गरेका छन्।
सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले यसपटक गत वर्षको तुलनामा सुन्तलाको उत्पादन बढेको बताए। उनले गतवर्ष तीन लाख रुपैयाँको सुन्तला बिक्री गरेकोमा यो वर्ष चार लाख आम्दानी गर्ने लक्ष्यमा छन्।
उनका अनुसार यहाँका किसानले बोटबाटै सुन्तला बिक्री गर्ने गरेको र थोरैले मात्रै आफै टिपेर बिक्री गर्ने गरेका छन् । ‘यो वर्ष केही नयाँ सुन्तलाका बिरुवाले उत्पादन दिए, सुन्तलामा किराको प्रभाव कम देखियो गत वर्षको तुलनामा’, खड्काले भने, ‘१५ क्विन्टल सुन्तला विद्युतीय शीत भण्डारण गृहमा राखेको छु, मूल्य राम्रो पाएपछि बिक्री गर्ने हो, अरु सुन्तला टिपेर सिधै पोखरा पठाउने लक्ष्य छ।’
खड्काका अनुसार सिगानाका सुन्तला पोखरामा बढी माग हुने गरेकाले व्यापारी सिधैँ यहाँ आएर बोटबाटै सुन्तला खरिद गरेर लैजाने गर्दछन् । सुन्तला उत्पादनको आधा आफै टिपेर पोखरा पुर्याएको अर्का सुन्तला किसान अनन्तबहादुर खड्काले बताए। उनको सुन्तला बगैँचामा दुई बोटमा लटरम्म सुन्तला पाकेका छन् ।
आफैँ टिपेर पोखरा पुर्याउँदा नाफा बढी हुने उहाँको भनाइ छ । खड्काले किसानले सुन्तलाको उचित मूल्य नपाए पनि बजारमा सुन्तलाको भाउमा वृद्धि भएको बताए । ‘बोटबाटै सुन्तला बिक्री गर्दा प्रतिकिलो ४० देखि ४५ आउँछ, आफै टिपेर लैजादा प्रतिकिलो ५० आउँछ’, उनले भने, ‘सुन्तलाका राम्रो दानालाई पोखरामा अहिले प्रतिकिलो १४० पर्छ।’
सिगानाका किसानले सुन्तला बिक्रीबाटै वार्षिक रूपमा दुईदेखि तीन करोड भित्र्याउँछन्। सुन्तला बगैँचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसान बताउँछन्।
सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको गाउँमा यो वर्ष सुन्तला उत्पादनमा २० प्रतिशत वृद्धि भएको छ। यहाँ राम्रो फल दिने १३ हजारभन्दा बढी बोट छन्। पाँच वर्षमा सिगानामा १० हजार सुन्तलाका नयाँ बिरुवा थपिएकाले वर्सेनि सुन्तला उत्पादनमा वृद्धि हुने बताइएको छ। उपयुक्त हावापानी भएका कारण सिगानामा सुन्तला रोपेको तीन वर्षमै उत्पादन दिन थालेको सुन्तला किसान तथा निर्वतमान वडाध्यक्ष राजन जिसीले जानकारी दिए। सिगानाका अधिकांश किसान अन्य खेती छोडेर सुन्तला खेतीमा आर्कषित हुन थालेका छन्।
सिगाना गाउँमा सम्बन्धित निकायबाट प्राविधिक र व्यवस्थापकीय सहयोग भए सुन्तलाखेती अझै बढाउने सोचमा किसान छन्। सुन्तला खेतीलाई आवश्यक मल तथा औषधि उपचारमा स्थानीय निकायबाट सहयोग नपाएको यहाँका किसानले गुनासोसमेत गर्दै आएका छन्।
अन्न बालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका हुन्। सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, दमेक र सर्कुवा लगायतका ठाउँ सुन्तला खेतीका लागि उर्वर मानिन्छ।