चितवनमा बिहे भोज खाएका ३०० जना बिरामी

केन्द्रभाग मिडिया

चितवन ।
चितवनमा बिहे भोज खाएका तीन सय जना बिरामी भएका छन् । गार्डेन रिसोर्टमा बिहे भोज खाएकाहरुलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएको छ ।

कतिपय बिरामी भरतपुरको नेशनल सिटी अस्पताल भर्ना नै भएका छन् । एउटै भोजमा सहभागी भएर पखाला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पतालमा भर्ना भएको बताइएको छ ।

अस्पतालका अनुसार अहिलेसम्म अस्पतालमा ७० जनाभन्दा बढी बिरामीको उपचार भैसकेको छ । अहिले ३५ जना बिरामी अस्पतालमा भर्ना भएका छन् ।

बिरामी परेकाहरु नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको मंसिर २३ गतेको विवाह समारोहमा सहभागी भएका थिए । बिहे भोज खाएका दुलाहा पक्षका २५० जना जन्ती र केही दुलही पक्षका बिरामी परेका छन् । जन्तीमा सहभागी गैंडाकोटका सविन लम्सालले भोजमा सहभागीमध्ये दुवै तिरका गरेर ३ सय जना बिरामी परेको बताए । दुलाहा र दुलहीलाई पनि पखाला लागेको लम्सालले जानकारी दिए ।

लम्सालले होटलले गुणस्तरहीन खाना खुवाएर बिरामी बनाएको भन्दै होटल सञ्चालकलाई कारबाही गर्नुपर्ने माग आफूहरुको रहेको बताए । होटल सञ्चालकहरु नेशनल सिटी अस्पतालमा मंगलबार बिरामी भेट्न आएको पनि उनले जानकारी दिए ।

  • २७ मंसिर २०७९, मंगलवार १०:१७ प्रकाशित