जाजरकोट ।
जाजरकोटमा जिप दुर्घटना हुँदा जिपमा सवार ११ जनाको ज्यान गुमेको छ । छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे भएको जिप दुर्घटना दुर्घटना भएको हो ।
छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाका अनुसार वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती बोकेको कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्बरको जिप भीरपाटीमा दुर्घटनामा परेको हो ।
जिप मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। वडाध्यक्ष थापाका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
उक्त जिप विवाह भोजमा सहभागी भएका एक जना जन्ती बिरामी परेपछि उपचारका लागि थलह बजार ल्याउन लागिएको थियो। एकजना बिरामी हुनुभएको थियो। उहाँलाई उपचार गराएर लाने र अरू केही मानिस तलतिर झर्ने थिए होला,’ वडाध्यक्ष थापाले भने, ‘पीच बाटोमा एक्कासी गाडी कसरी खस्यो भन्ने खुलेको छैन।’
मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–२ दैलेखका चालक मानबहादुर रावत, भगवतीमाई–३का सुरेन्द्र केसी, अम्मरबहादुर खड्का, छेडागाड –५ का जयकुमार बुढा, नैनसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, २ वर्षीया बालिका निशा अधिकारी छन्।
दुर्घटनामा घाइते भएका अम्मर र बालिका निशाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा ज्यान गुमेको हो ।यस्तै छेडागाड–६ का वीरबहादुर खत्री, रामबहादुर बुढाको पनि घटनास्थलमै ज्यान गुमेको वडाध्यक्ष थापाले जानकारी दिए।
दुर्घटनामा घाइते भएका जैमान अधिकारीलाई उपचारका लागि नेपालगञ्ज लगिँदैछ।













