पोखरा ।
पोखरा महानगरका मेयर धनराज आचार्यले फोहोर व्यवस्थापन गर्ने कार्यलाई अनावश्यक राजनीति नगर्न आग्रह गरेका छन् । युआरएलको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शुक्रबार साँझ यस्तो बताएका हुन् ।
महानगरका कुनै न कुनै ठाउँमा फोहोर व्यवस्थापन गर्नैपर्ने भन्दै यस्ता कुरामा राजनीति नगर्न उनले आग्रहगरेका हुन् । मेयर आचार्यले अब डम्पिङसाइड नबनाई फोहोर प्रशोधन केन्द्र बनाइन लागिएको प्रष्टिकरण दिए ।
फोहोर प्रशोधन केन्द्र बस्तीकै बीचमा बनाएपनि फरक नपर्ने दाबी गर्दै मेयर आचार्यले बन्ने फोहोर प्रशोधन केन्द्र महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्ने दाबी गरेका छन् ।
उक्त प्रशोधन केन्द्र हेर्न टिकट काटेर पर्यटकहरु अबलोकन गर्न जाने उनले टिप्पणी गरे । ‘हामी डम्पिङसइड बनाएर फोहोर फाल्दै छैनौं । फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने छौं । जुन प्रशोधन केन्द्र पर्यटकका लागि एउटा महत्वपूर्ण पर्यटकीय स्थल बन्ने छ । पर्यटकहरु टिकट काटेर हेर्न जाने स्थलको रुपमा फोहोर प्रशोधन केन्द्रको विकास गर्ने छौं’ उनले भने ।
तोकिएकै मितिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नेगरी चालु ल्याण्डफिल साइट बन्द गरिने जानकारी दिए । तोकिएकै समयमा विमानस्थल सञ्चालन गर्नेगरी पोखरा महानगरले फोहोर व्यवस्थापन गर्र्ने तयारी पुरा भइसकेको उनको दाबी छ । त्यो जुनसुकै ठाउँमा पनि हुनसक्ने भन्दै फोहोर प्रशोधन केन्द्र राख्ने कुरामा अनावश्यक विवाद गर्न जरुरी नरहेको प्रष्ट पारे ।