रेडियो बाराहीमा लैङ्गिक हिंसा विरुद्ध अन्तरसंवाद

केन्द्रभाग मिडिया

पोखरा ।

रेडियो बाराहीले लैङ्गिक हिंसा न्युनिकरणमा मिडिया र सरोकारवालाको भूमिका विषयमा अन्तरसंवाद कार्यक्रम गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रेडियोले आफ्नै प्रांगणमा सरोकारवालाहरुसंग बुधबार अन्तरसम्बाद कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहभागी वक्ताहरुले लैङ्गिक हिंसा न्युनिकरणका लागि सर्वप्रथम समाजका सम्पूर्ण नागरिकमा सकरात्मक चेतनाको विकास हुनुपर्ने र त्यसका लागि मिडिया र सरोकारवाला संघ संस्थाले तीव्र सचेतना फैलाउनु पर्नेमा जोड दिए । उनीहरुले लैङ्गिक हिंसा अन्त्यका लागि मौसमी खेती गरेजस्तो १६ दिने अभियान मात्र गरेर नहुने भन्दै ३६५ दिन नै हिंसा विरुद्ध आवाज उठाउनुपर्ने र चेतना मुलक कार्यक्रम गर्नुपर्ने बताए ।

कार्यक्रममा गण्डकीका निमित्त प्रमुख सचिव मनमायाँ भट्टराई पंगेनीले हिंसाको प्रमुख कारण पत्ता लगाउन सकेमात्र यसलाई न्युनिकरण गर्न र निर्मुल पार्न सकिने बताइन् ।  यसका लागि मिडिया, सरोकारवाला निकाय, प्रहरी प्रशासन, मनोपरामर्श विद् सबैको सहकार्य आवश्यक पर्ने उनको भनाई थियो ।

लैङ्गिक हिंसा न्युनिकरणमा मिडियाको भुमिका मुख्य रहेको बताइरहँदा मिडियामा कार्यरत कर्मचारीले आफैले सर्वप्रथम आफुमाथि हिंसा भएको छैन भनेर महसुस गर्न सक्नुपर्ने तब मात्र मिडियाकर्मीले समाजमा भएका हिंसा न्युनिकरणमा आवाज उठाउन सक्ने उनले बताइन् ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी गण्डकी प्रमुख मायादेवी शर्माले आयोगले लैगिक हिंसा र अन्य सबै प्रकारका हिंसा न्युनिकरणका लागि सरकार र सरोकारवालालाई सचेत पारेको बताइन् । पीडकलाई कानुनी दायरामा ल्याउन दबाव दिने र दण्डहिनताको अन्त्यका लागि प्रयास गरिरहेको उनको भनाई छ ।

अन्तरसंवादमा सहभागी जिल्ला प्रहरी कार्यालय कास्कीकी प्रहरी निरीक्षक समिक्षा घिमिरेले कास्कीमा श्रीमानबाट कुटपिट भएको भन्दै दैनिक कम्तिमा ३/४ केस आफूहरु कहाँ आउने गरेको बताइन् ।

सानो उमेरमा परिवारलाई थाहा नदिई बिहे गर्ने परिवारले थाहा पाएपछि छुटाउन खोजे सुसाइड एटेम्ट गर्ने जस्ता केसहरु बढ्न थालेकाले सचेतना मुलक अभियान कार्यक्रम या विद्यालयमा यस्ता खालका विषयलाई समावेश गरि चेतना फैलाउन आवश्यक रहेको प्रहरी निरीक्षक घिमिरेको भनाई थियो ।

कार्यक्रममा रेडियो बाराहीका निर्देशक किरण केसीले हिंसा न्युनिकरणका लागि पहिला आफु आफुले आफैंलाई सही मार्गमा हिडाउनु पर्नेमा जोड दिए । लैगिंक हिंसामा मुख्यत महिला हिंसाका घटना बाहिर आउने गरेको भन्दै उनले महिलालाई हिंसा गर्नु भन्दा पनि शक्तिको रुपमा लिन सके परिवार असल हुने र समाजका एक एक परिवार असल हुन सके समाज त्यसै असल र हिंसामुक्त समाज बन्ने भनाई राखे ।

केसीले ध्यान र आध्यात्मले पनि हिंसा न्युनिकरणमा मद्दत पुग्ने बताए । आध्यात्मले थर्ड आई(तेस्रो आँखा) अर्थात सकरात्मक चेतना अभिवृद्धि गर्ने भएकाले हिंसा न्युनिकरणमा सहयोग पुग्ने उनको भनाई थियो ।

कार्यक्रममा एडभोकेसी फोरमकी कुन्जनी परियार, इन्सेक पोखराका शिव खकुरेल, कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवाल, महिला मानव अधिकार संजालकी केशु भूजेल, चिल्ड्रेन नेपालका रमेश सुवेदी, एनजिओ फेडेरेसन कास्की अध्यक्ष तथा विकास नेपालका अध्यक्ष डा.बुद्धी थापाले आफ्ना भनाई राखेका थिए ।

यस्तै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, गैह्रसरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता पंगेनी, नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्मा, संचारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठ, दलित महिला संघ कास्कीकी इश्वरी वि.क, महिला मञ्च कास्कीकी मना सेरचन, थ्रि एन्जल नेपालका रमेश पाण्डे लगायतले बोलेका थिए ।

रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै रेडियो बाराहीले लैगिंक हिसांका मुद्धालाई सेन्सेटिभ भएर उजागर गरेको र यस्ता हिंसाका विरुद्ध आवाज उठाइरहेको बताए ।

  • २१ मंसिर २०७९, बुधबार १५:०३ प्रकाशित