हवाई सुरक्षा जाँच्न युरोपेली संघको टोली पुनः नेपाल आउँदै

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली वायुसेवालाई एभिएसन सेफ्टी लिस्ट (सुरक्षा सूची)मा राख्दै आएको युरोपेली सङ्घ (ईयू)को प्राविधिक टोली पुनः नेपाल आउने भएको छ । ईयूले पछिल्लो पटक सार्वजनिक गरेको सुरक्षा सूचीमा नेपाललाई निरन्तरता दिएको ईयूमातहतको एभिएसन सेफ्टी एजेन्सी (आयसा)ले स्थलगत परीक्षणका लागि अर्को टोली नेपाल पठाउन लागेको हो ।

नेपालको उड्डयन क्षेत्रको स्थलगत अध्ययन गर्न ईयूको ‘टेक्निकल को–अपरेसन टिम’ यसअघि असोज २० गते नेपाल आएको थियो । स्थलगत अध्ययनमा आएको उक्त टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रको अध्ययन गरेर फर्किएको थियो ।

स्थलगत मूल्याङ्कन भ्रमणका लागि पुनः दुई महिनाभित्र ईयूको टोली नेपाल आउन लागेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

प्राधिकरणले संशोधन गरेको नयाँ नियमावली कार्यान्वयनको अवस्था तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालको वर्तमान उडान सम्परीक्षण क्षमताको मूल्याङ्कन अब हुने ईयूको टोलीको भ्रमणपछि अद्यावधिक गरिने उनले बताए ।

  • १४ मंसिर २०७९, बुधबार ०९:२२ प्रकाशित