लुम्बिनीमा एमाले ठूलो दल, माओवादी ५ सीटमा खुम्चियो

केन्द्रभाग मिडिया

बुटवल ।

लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो ।

एमालेले १८ सीट जितेर पहिलो दल बनेको हो । यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ । २०७४ मा ७ सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो दल बनेको छ ।

नेकपा माओवादी केन्द्रले ५ सीट जितेर तेस्रो बनेको छ । माओवादी केन्द्रले २०७४ मा वाम तालमेल हुँदा १४ सिट जितेको थियो । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट जितेका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टीले एक सिट जितेको छ ।

माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् । अघिल्लो प्रदेश सभामा ५ दलको सहभागिता रहेकामा यसपटक कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । समानुपातिकमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत मत कटाए भने १० दलको प्रतिनिधित्व हुने छ । यसपटक लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी, जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका छन् ।

  • ११ मंसिर २०७९, आईतवार १३:०६ प्रकाशित