प्रकाश डोटेल
स्याङ्जा ।
स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा (२) बाट नेकपा एमालेका सुधिर कुमार पौडेल निर्वाचित भएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार बुद्धिबहादुर राना ‘कुमार’ लाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् ।
एमालेका उम्मेदवार पौडेलले १७ हजार ४४१ मत प्राप्त गर्दै ६ मतको झिनो मतान्तरले निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
काँग्रेसका रानाले १७ हजार ४ सय ३५ मत प्राप्त गरेका छन् । एमालेको किल्लाका रुपमा परिचित क्षेत्रमा पौडेलको विजयले एमालेमा थप उर्जा थपेको छ भने काँग्रेस निराश भएको छ ।
राना काँग्रेस र पौडेल एमाले स्याङ्जाको एकै समयका जिल्ला सचिव हुन् । सचिव पदमै रहँदा पौडेल आँधीखोला गाउँपालिका अध्यक्ष भए भने राना कार्यबहाक सभापति बन्न पुगे ।
बौद्धिक नेताको छवि बनाएका काँग्रेसका राना र एमालेभित्र कुशल संगठकको छवि निर्माण गरेका पौडेलबीचको चुनावी भिडन्त रोचक थियो । कडा प्रतिस्पर्धाबीच अन्त्यमा पौडेलले बाजी मारेका छन् ।













