पोखरा ।
कास्की १(१)बाट निर्वाचित नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले गण्डकी प्रदेशको विकासका लागि स्थिर सरकार बनाउनुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका दिपक कोइरालालाई पाराजित गदैँ गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भए पछि मत गणना स्थलमा संक्षिप्त प्रतिक्रिया दिदै अधिकारीले एमालेले सरकार बनाउने अवस्था आएमा सबैको साथ समर्थन लिएर जाने बताए ।
अधिकारीले स्थिर सरकार बनाउनुपर्नेमा जोड दिए । जसले सरकार बनाए पनि गण्डकी प्रदेशका जनताको खुशी र स्थिरताका लागि हामी पूर्वाग्रह सहयोग गदैँ जान्छौँ, अधिकारीले भने ।
हामी कुनै आग्रह र अहंकारले ग्रसित पनि छैनौ, हुन पनि हुदैँनौ । स्थिरिता अहिलेको जरुरी कुरा हो अधिकारीले भने, स्थिर सरकार हुदाँ विकास निर्माणलाई तिब्र गति दिन सकिन्छ भन्ने हाम्रो मान्यता हो ।
मुख्यमन्त्रीको जिम्मेवारी लिन तयार हुनुहुन्छ भन्ने प्रश्नमा अधिकारीले आफुले कहिले पनि मुख्यमन्त्रीको दावी नगरेको बताए । तर, आइपर्दा जुन प्रकारको जिम्मेवारी पनि योग्यतापूर्वक पुरा गर्ने कोसिस गर्छु ।
अधिकारीले प्रत्यक्ष तर्फको मतपरिणामले देश स्थिरता तिर जाने संकेत नगरेको बताए । अधिकारीलाई मुख्यमन्त्री बनाउन एमालेले प्रदेशमा झारेको चर्चा छ । तर एमाले प्रत्यक्ष तर्फको मतपरीणाम अनुसार दोस्रो ठुलो पार्टी बन्ने अवस्थामा पुगेको छ ।













