पोखरा ।
स्याङ्जाको क्षत्रनम्बर २ अन्र्तगत चापाकोट नगरपालिका र गल्याङ नगरपालिकामा मतदान स्थलमा हवाई फायर भएको छ ।
चापाकोट नगरपालिका वडानम्बर १ मा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका एजेन्टलाई हातपात गरे पछि तनाव उत्पन्न भएको थियो ।
तनाव पछि आक्रोसित भिडले मतपेटिका कब्जा गर्न र मतदान अधिकृतलाई हातपात गर्न खोजे पछि प्रहरीले हवाई फयर गरेको स्याङजाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिए । चापाकोट नगरपालिका १ को आधिचौघेरास्थित भानु मावी मतदान केन्द्रमा विवाद हुँदा करिब डेढ घन्टा मतदान स्थगित भएको थियो।
यस्तै स्याङ्जाकै क्षेत्रनम्बर २ गल्याङ नगरपालिका पेलाकोटमा मतदान अधिकृतलाई आक्रमण गरेर मतपेटीका कब्जा गर्न खोजे पछि प्रहरीले एक राउण्ड हवाई फाएर गरेको छ ।
गल्याङ नगरपालिका ७ को मनहरी आधारभुत विद्यालयको बुथ एमाले कार्यकर्ताले कब्जा गर्न खोजे पछि प्रहरीले हवाई फाएर गरेको प्रवक्ता खनालले बताए । एमाले कार्यकर्ताले मतदान अधिकृत माथि नै आक्रमणको प्रयास गरे पछि अवस्था विग्रन पुगेको खड्काले बताए । अहिले स्थिति नियन्त्रणमा आएको र दुवै केन्द्रमा मतदान जारी रहेको प्रहरीले जनाएको छ ।













