पोखरा।
कास्कीको मादी गाउँपालिका रहेको पर्यटकिय क्षेत्र कोरीसम्म पुग्न केवलकार बन्ने भएको छ । सिक्लेस अन्नपूर्ण केवलकार प्रालिले उक्त केवलकार बनाउन लागेको हो । कोरी घुम्न जाने पर्यटकले अहिले हेलिकप्ट र पदमार्ग हुदैँ पुग्ने गरेका छन् ।
केवलकारको तल्लो स्टेसन मादी–१ सिक्लेसको प्वरयुममा बन्ने छ । प्वरयुमबाट ६. ४१ किलोमिटर दुरीमा रहेको कोरीमा माथिल्लो स्टेसन बन्नेछ । कोरी ४ हजार मिटर उचाइको पर्छ । पोखराबाट हाल सार्वजनिक बसमा तीन घण्टामा सिक्लेस पुग्न सकिन्छ । सिक्लेसबाट कोरी पुग्न एक दिन पैदल हिँड्नुपर्छ ।
कोरी पुगेपछि आँखैअगाडि लस्करै अन्नपूर्ण दक्षिण, माछापुच्छ्रे, लमजुङ हिमाल देख्न सकिन्छ । दूधपोखरी, पोखरालगायत स्थानको अवलोकन गर्न सकिन्छ । कोरीमा ठूल्ठूला खर्क छन् । ८ महिनासम्म हिउँ जम्छ ।
सिक्लेस अन्नपूर्ण केवलकार प्रालिले परियोजनाको वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ ।
परियोजनाको कुल लागत ६ अर्ब ९० करोड ३७ लाख १८ हजार २४४ रुपैयाँ अनुमान गरिएको छ । पोखराबाट करिब ३० किलोमिटरको दुरीमा केही पक्की सडक र कच्ची सडक मार्फत केवलकारको तल्लो स्टेसन पुग्न सकिन्छ ।
केवलकार बनेपछि सिक्लेस, कोरी डाँडा, कापुचे तालु, मनाङ र लमजुङका पर्यटकीय क्षेत्रमा पुग्न सहज हुने छ ।