यूएईविरुद्धको एकदिवसीय शृंखला नेपाललाई

केन्द्रभाग मिडिया

काठमाडौं ।
युवा ओपनर आसिफ शेख र अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लको कीर्तिमानी शतकीय साझेदारीमा नेपालले युएईसँग तीन ओडिआई खेलको सिरिज उपाधि जितेको छ । नेपालले अन्तिम तथा तेस्रो ओडिआई खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले जितेको हो । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४०‍‍‍‍‍.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेख १ सय १९ बलमा १२ चौकासहित ८८ रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनमा आउट भए । आसिफ र ज्ञानेन्द्र दुबैको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो । दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय २२ रनको शतकीय साझेदारी गर्दै सहज जितको आधार तय गरे ।

युएईका आयन खान र हजरत बिलालले एक एक विकेट लिए ।त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । युएई एक समय ३१.१ ओभरमा ९३.९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले पुरै ओभर खेल्दै अविश्वसनीय पूनरागमन गराए ।

आयन खान ६३ बलमा ७ चौका र १ छक्कासहित ५४ रनमा अविजित रहे । नवौं विकेट जादा आयन एक रनमा क्रिजमा थिए । उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो अर्धशतक हाने । बिलाल ५४ बलमा १ छक्कासहित २० रनमा अविजित रहे । यो ओडिआई इतिहासको अन्तिम विकेटका लागि भएको चौथो ठूलो साझेदारी हो ।

युएईको तर्फबाट अन्तिम विकेटका लागि भएको उच्च साझेदारी हो । ओडिआईमा अन्तिम विकेटका लागि वेस्टइन्डिजका भिभियन रिचर्ड्स र माइकल होल्डिङले १९८४ मा इंग्ल्यान्डविरुद्ध १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए । जुन ओडिआई क्रिकेट इतिहासमा अन्तिम विकेटका लागि भएको उच्च साझेदारी हो ।

युएईका एलिशान शराफुले ६९ बलमा ४ चौकासहित ३३ रन बनाए । एक समय युएई २३.१ ओभरमा ७९–३ को अवस्थामा थियो । त्यसपछि नेपाली स्पिन सामू निरिह बन्दै १४ रन जोड्न ६ विकेट गुमाएपछि युएई ३१.१ ओभरमा ९३–९ को दयनीय अवस्थामा पुगेको थियो ।

नेपालको तर्फबाट तीव्र गतिका बलर गुलशन झाले दोस्रो ओभरको दोस्रो बलमा ओपनर मोहम्मद वासिमलाई ११ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए । चोभार एण्डबाट आएका गुलशनको बलमा एज लागेर आउट हुनुअघि उनले ८ बलमा १ चौका र १ छक्का हाने । त्यसअघिको बलमा वासिमले गुलशनलाई छक्का हानेका थिए ।

टियु एण्डबाट आएका सोमपाल कामीले युवा ओपनर वृत्य अरविन्दलाई शून्यमा बोल्ड गरे । गुलशन झाले चौथो ओभरको पहिलो बलमै कप्तान सिपी रिजवानलाई ४ रनमा आसिफ शेखबाट क्याच गराउँदै १६–३ को सानदार सुरुवात दिलाए ।

त्यसपछि चौथो विकेटका लागि अलिशान शराफु र रोहन मुस्तफाले ६३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । मुस्तफा दीपेन्द्रसिंह ऐरी बलमा २४ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए । मुस्तफाले ५६ बलमा २ चौका प्रहार गरे । मुस्तफाको विकेटपछि युएईका ब्याटर क्रिजमा टिक्न सकेनन् । लगातार खराब सट खेल्दै आउट भए ।

लेग स्पिनर कुशल भुर्तेलले शराफुलाई बोल्ड गरे । विष्णुु सुकुमारन एज लागेर दीपेन्द्रको बलमा आसिफ शेखबाट २ रनमा क्याच आउट भए । स्पिनर ललित नारायण राजवंशीले प्रमुख हिटर बासिल हामीदलाई ८ रनमा क्याच गराए । कुशलले नै अहमद राजालाई शून्यमा क्याच गराएपछि युएई ९३–८ को दयनीय अवस्थामा पुगेको थियो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ३ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ७ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिए ।

नेपाल पहिलो खेलमा ८४ रनले पराजित हुँदा दोस्रो खेलमा तीन विकेटले विजयी भएको थियो । नेपालले अव आइसिसी विश्वकप लिग २ को लागि नामिबिया भ्रमण गर्नेछ । नामिबिया, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

  • २ मंसिर २०७९, शुक्रबार १७:४७ प्रकाशित