मतदानको ३ दिनभित्र मतगणना सक्ने आयोगको लक्ष्य

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

निर्वाचन आयोगले मतदान भएको ३ देखि ५ दिनभित्र सबै क्षेत्रको मतगणना सम्पन्न गर्ने लक्ष्य लिएको छ । मंसिर २० गतेसम्म मतगणनाको सम्पूर्ण प्रक्रिया पूरा गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगले जनाएको छ ।

मतदान सकिएपछि सुरक्षाकर्मीको सहयोगमा मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइन्छ । जुन ठाउँमा उम्मेदवारको मनोनयन गरेको हो सोही कार्यालयमा मतगणना हुने निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुसालले बताए ।

मतगणना निर्वाचन अधिकृतको कार्यालयमा हुन्छ । सबै मतदानस्थलबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बस्छ र मतगणनाको काम सुरु हुन्छ । मतगणना कार्यमा उम्मेदवारका प्रतिनिधि बस्न पाउने व्यवस्था हुन्छ । मतगणना निर्देशिकामा तोकेका व्यक्तिहरू मतगणनास्थलमा बस्न पाउने व्यवस्था हुन्छ । निर्वाचन पर्यवेक्षकहरुलाई पनि अलि टाढाबाट मतगणना हेर्न पाउने व्यवस्था हुन्छ ।

मतगणना गर्दा सम्भव भएसम्म प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली दुवैको एकैपटक गरिने बताइएको छ । यदि ठाउँ र कर्मचारीको अभाव भएमा सबैभन्दा पहिला प्रत्यक्ष तर्फको मतगणना गर्ने र त्यसपछि समानुपातिक तर्फको मतगणना गरिनेछ ।

  • २ मंसिर २०७९, शुक्रबार १३:५४ प्रकाशित