काठमाडौं । गण्डकी प्रदेशका पूर्व भौतिक पूर्र्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले काँग्रेसमा बसेर राजनीति गर्ने बताएका छन्।
मङ्गलबार बर्खास्तीमा परेपछि खड्काले आज पत्रकार सम्मेलन गरी मन्त्री बर्खास्त हुने कुरा नौलो नभए पनी बर्खात गरिनुको कारण भने आफुले थाह नपाएको गुनासो गरे । उनले आफु कांग्रेस वाहेकको राजनीतिमा नलाग्ने पनि स्पष्ट पारे । टिकट नपाउनु र बर्खात हुनु यो राजनीतिको सामान्य प्रकृया भएको उनको भनाई थियो । मिडियामा आएका आरोप लगाईजस्तो आफुले पार्टी हित विपरीत कार्य भने नगरेको उनले दावी गरे ।
टिकट नपाएकै कारण कांग्रेस नछाड्ने बताउँदै उनले आफूले अखण्ड नेपाल पार्टीलाई काग्रेसमा समाहित गरेर आएको र पार्टीले सांसद, लेखा समिति सभापति, मन्त्री जस्ता जिम्मेवारी दिएको उल्लेख गरे । आफूले उम्मेदवार विन्दुकुमार थापालाई असहयोग नगरेको पनि बताए । थापाले आफूलाई निराधार आरोप लगाएको खड्काले गुनासो गरे ।
आफू मन्त्री पदमा रहँदा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले यस अवधिमा यातायात क्षेत्र लगायतमा महत्वपूर्ण उपलब्धि हासिल भएको जिकिर गरे ।













